गगनको दाबी-‘केही दिनमा कांग्रेसले सरकारको नेतृत्व लिन्छ’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन वा केही महिनामा सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने बताएका छन्।

बुधबार पोखरा महानगरको सम्मेलनमा दिपेन्द्र सभागृहमा थापाले सरकारको नेतृत्व अब कांग्रेसले गर्ने भन्दै नेता कार्यकर्तालाई रुवाबासी नगर्न आग्रह गरे।

२०८४ सालको निर्वाचनलाई लिएर कांग्रेसका नेता कार्यकर्ता चिन्तित भएको आफूले पाएको भन्दै उनले प्रश्न गरे, ‘अब केही दिनपछि हप्तापछि, नभए महिनापछि संघको प्रधानमन्त्री कांग्रेस। सबै प्रदेशको मुख्यमन्त्री कांग्रेस अनि ८४ मा चुनाव हारिन्छ भनेर रुवाबासी, रुवाबासीरु,’ गगनले भने।

गएको निर्वाचनपछि कांग्रेस धेरै ठाउँमा सत्तामा पुगेको उल्लेख गर्दै गगनले २०८४ सालको निर्वाचन आउन अझै चार वर्ष बाँकी रहेको बताए। जताततै चुनाव जितेको कांग्रेस अहिले रुनुपर्ने अवस्था नरहेको गगनको भनाइ थियो।

‘मैले अहिले कांग्रेस रोएको भेट्छु चुनाव हारिन्छ चुनाव हारिन्छ भनेर। नेपाली कांग्रेस त्यो हैन,’ थापाले भने, ‘गण्डकीमा गए यही मुख्यमन्त्री। लुम्बिनीमा गए त्यही मुख्यमन्त्री। सुदुरपश्चिम गए त्यही मुख्यमन्त्री। यता ठोक्किए वडाध्यक्ष। उता ठोके उपमेयर। त्यता ठोके अध्यक्ष। ३३२ वटा पालिकाको अध्यक्ष मञ्चभरि अटाइनअटाई बस्छन्। चुनाव लड्छ जित्छ। अनि देशभरीको कार्यक्रममा गयो भने कांग्रेसमा रुवाबासी छ। रुवाबासी चै किन रे भने ८४ सालमा चुनाव हारिन्छ भनेर। ८० सालमा चुनाव जित्ने। चुनाव आउन ४ वर्ष बाँकी छ।’

गगनले कांग्रेस ठूलो पार्टी भएको भन्दै थप भने, ‘कांग्रेसले आफ्नो धर्म निर्वाह गरेन रे। फल के आउँछ चिन्ता गरेर बस्ने। आजको हाम्रो धर्म के हो। ७९ सालमा चुनाव भयो। जताततै चुनाव जितेको छ। संघमा चुनाव जितेको छ ठुलो पार्टी बनेको छ।’