काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबीच प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत १६५ सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ। जसअनुसार कांग्रेसले ८६ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने छ अन्यत्र भने अन्य दललाई सहयोग गर्नेछ। उता एकीकृत समाजवादीले भने १७ सिट पाउने सहमति दलहरूबीच भइसकेको छ।
केही ठाउँमा दुई वटा दलले दाबी कायम राखेको त्यो पनि सहमतिकै आधारमा भागबन्डा गरेर मिल्ने नेताहरूले बताएका छन्। नेताहरूको अनुसार अब सिट बाँडफाँट टुंगिन धेरै समय लाग्ने छैन। करिब २ महिनाको छलफलपछि सिट बाँडफाँट सहमति उन्मुख भएको छ।
गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको छ।
कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ । दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।
यसैगरी चितवन – १ र २, गोरखा – १, मनाङ, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ- ३ र बाँके – ३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
यसैगरी पाँचथर, इलाम-२, झापा – १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी -३, ४, सिरहा – १, २ धनुषा- २, ३ र ४ महोत्तरी – २ र ३ निर्वाचन क्षेत्र पनि कांग्रेसले लिने सहमति भएको छ ।
यस्तै सर्लाही – ४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ – २, नुवाकोट -२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे –२ सिन्धुपाल्चोक – २ र मकवानपुर- १ कांग्रेसले लिने बताइएको छ ।
जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ।
गठबन्धनमा सहमति गरे पनि कांग्रेसभित्रको विवादले सभापति शेरबहादुर देउवा भने अप्ठ्यारोमा छन्। डा.शेखर कोइराला पक्षलाई पेलेर अघि बढेका देउवा सत्ता गठबन्धनमा भने नरम देखिए। यो थाहा पाएको शेखर समूहले आफ्नो पक्षले ४० प्रतिशत भाग पाउनुपर्ने अडान राखेको छ। आन्दोलनमै उत्रिएको छ। दबाब भेला तथा पार्टी कार्यालयमै धर्नाको कार्यक्रम यो समूहले गरिसकेको छ।