गोखरा । सत्तारुढ दलहरुबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भनिए पनि मुस्किलले २ सय हाराहारी स्थानीय तहमा मात्र गठबन्धन सम्भव भयो । त्यसबाहेक कुनैमा माओवादी र एमाले मिलेर गठबन्धन गरे भने कुनैमा माओवादी विरुद्ध कांग्रेस र एमालेले गठबन्धन गरे । तर, गोरखामा भने माओवादी केन्द्रले एक्लै चुनाव लडेर उत्कृष्ट पुनरागमन गरेको छ । गोरखाका ११ स्थानीय तहमध्ये ०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसले ९ र नेकपा माओवादी केन्द्रले २ वटाको नेतृत्व जितेका कारण यहाँ कांग्रेले माओवादीसँग सिट बाँड्न चाहेन ।
गणना सकिएको सातमध्ये ६ पालिका माओवादी केन्द्रले जितिसकेको छ । गणना भइरहेको गोरखा र पालुङ्टार नगरपालिका पनि माओवादी केन्द्रका उम्मेदवारको अग्रता छ । जुन जित तर्फ निश्चित देखिएको छ । गोरखा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर रानाले ७,०१२ मत सहित अगाडी छन् । पालुङटारमा माओवादी केन्द्रकै विवश चिन्तन ४,४३२ मतसहित अगाडी छन् । बारपाक सुलिकोट, अजिरकोट, गण्डकी, धार्चे, भीमसेनथापा र शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रले जितिसकेको छ । चुमनुब्रीमा भने गणना सुरु भएको छैन ।
०७४ को चुनावमा माओवादी केन्द्रले बारपाक र शहीद लखन गाउँपालिका मात्रै जितेको थियो । यसपटक यी दुवै पालिका पनि सुरक्षित गरेको छ । शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेशबाबु थापा मगर दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । उनले ५,४७४ मत ल्याएर कांग्रेसका नारायणप्रसाद लामिछानेलाई पराजित गरे । एक हजार बढी अन्तरले पराजित लामिछानेले ४,४३२ मत मात्रै पाए ।