गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्रीमा पुनःनियुक्ति भएका गुरुङलाई बुधबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् ।

बुधबार नै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

गुरुङ मुख्यमन्त्री पदमा आज नियुक्त भए पनि उनले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।

प्रमुखले दिएको समयवधिभर बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरेका थिए। तर जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विपक्षीलाई धक्का पुगेको हो।