गण्डकीमा आज होला नयाँ सरकार गठन ?

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले दिएको समय आज ३ बजे सकिने छ । त्यसपछि प्रदेश प्रमुख सीता पौडेलले आफ्नो निर्णय सार्वजनिक गर्नेछिन् । उनले शुक्रबार २४ घण्टाको समय दिएर बहुमतसहित सरकारको नेतृत्व दावि गर्न समय दिएकी थिइन् । मुख्यमन्त्री पदमा दाबी गर्दै विपक्षी गठबन्धनका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार नै बहुमत ३१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।

कांग्रेस गण्डकी संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गर्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जना प्रदेश सांसद प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई समर्थन दिएका थिए ।

केन्द्रमा राष्ट्रपतिले शेरबहादुर देउवाको योग्य दाबीसमेत अयोग्य भनेपछि प्रदेशमा समेत विपक्षी सशंकित छन । किनकी प्रदेश प्रमुख यहाँ केपी शर्मा ओलीले आफु निकटका नेतालाई बनाएका छन् । विपक्षी दलले भने स्पष्ट बहुमत साथ आएको नेतालाई मूख्यमन्त्रीमा नियुक्त गर्न आह्वान गरेका छन् ।