पोखरा । गण्डकी प्रदेशमा एमालेको सत्ता ढलेको छ । यहाँ अब कांग्रेसका कृष्णचन्द्र पोखरेल (नेपाली) मूख्यमन्त्री बनेका छन् । संसदबाट अल्पमतमा परेको पृथ्वी सुब्बा गुरुङको सरकार काम चलाउ भएको थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमत सदस्यसहित सरकारको नेतृत्व दावि गर्न दिएको समय भित्रै नेपालीले आफ््नो दावि पेश गरेका थिए ।
सोही आधारमा पौडेलले उनलाई मूख्यमन्त्रीमा नियुक्ति दिएकी छन् । यससँगै एमालेको सत्ता ढलेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि केन्द्रसहित प्रदेशहरुमा समेत ओली कमजोर बन्दै गएको पुष्टी भएको छ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले जानकारी गराएका छन् । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समेत दाबी पेश गरेका थिए।
तर, उनले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपनि त्यो मान्य भएन । नेपालीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।