गत वर्ष चीनबाट विद्यार्थी ल्याउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च

काठमाडौं । गत वर्ष कोरोना भाइरसको उदगमस्थल चीनको बुहानबाट नेपाली विद्यार्थीलाई घर फिर्ता गराउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च भएको पाइएको छ । यो उडान सरकारले निःशुल्क गरेको थियो । नेपाली नागरिकलाई उद्धार गरि काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको पाइएको हो । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले यस्तो हिसाव देखाएको हो । चीनको वुहानबाट १ सय ८७ नेपाली नागरिकलाई उद्धार गरिएको थियो । यस क्रममा नेपाल एयरलाइन्सको जहाज प्रयोग गरिएको थियो ।

यो उडानबाट आएकालाई २०७६ फागुन ४ देखि २० सम्म १७ दिन सेनाले क्वारेन्टाइनमा राखेको थियो । सो क्रममा ५५ लाख खानामा र औषधि खरिदमा ६६ लाख ७१ हजार खर्च भएको हिसाव महालेखाको प्रतिवेदनमा देखिएको छ । क्वारेन्टाइन निर्माण, निर्मित क्वारेन्टाइनका लागि आवश्यक सामग्री खरिद, इन्टरनेट, बेड खरिद तथा निर्माणलगायत सहरी विकास मन्त्रालयले ७ करोड ५६ लाख ९५ हजार खर्च गरेको थियो । हवाई उद्धार र स्थानीय यातायातबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख ७९ हजार खर्च गरेको छ ।