काठमाडौं । विकसित मुलुकहरुले कोरोना भाइरसको खोप प्रयोग थालिसकेका छन् । अमेरिका र बेलायतमा औपचारिक रुपमा खोप वितरण शुरु भएको छ । चीन र रुसले अनौपचारिक रुपमा लाखौं नागरिकलाई कोरोना खोप लगाइसकेका छन् । भारतसहित अन्य मुलुकहरुसमेत अब खोप वितरणको तयारीमा छन् ।
यस्तो अवस्थामा आफै खोप निर्माण गर्न नसक्ने र कमजोर आउस्रोत भएका मुलुकहरु भने अहिले पनि अन्यौलमा छन् । तत्काल खोप उपलब्ध नहुने अवस्थामा कतै गरिब मुलुकका नागरिकले मात्र ज्यान गुमाउन पर्ने हो की भन्ने चिन्ता समेत छ ।
तर, गरिब राष्ट्रले समेत सन् २०२१ को सुरूदेखि नै कोरोनाविरूद्धको खोप प्राप्त गर्ने आश्वासन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुन सक्ने जानकारी शुक्रबार दिएका हुन् ।
विश्वभरका नागरिकलाई सुरक्षित राख्ने उद्देश्यसहित काम भइरहेको उनीहरुको भनाई छ । विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरूको भनाई छ ।
शुक्रबार जारी एक विज्ञप्तीमा जनाइए अनुसार सबै देशले कोरोनाविरूद्धको खोप किनेर लैजान नसक्ने भएकाले ती देशमा सन् २०२१ को सुरू देखि नै खोप पठाउने तयारी भइरहेको छ ।
अध्यारो सुरुंगपछि उज्यालो आउने आशा गर्दै महामारीका बीच गरिब मुलुकलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले उल्लेख गरेका छन् ।