गाइडबीना सोलो ट्रेकरलाई पदयात्रामा जान नदिने नियम लागु

काठमाडौं । हिमाल आरोहणमा जानेबाहेक पथप्रदर्शकबिना पदयात्रामा एक्लै वा समूहमा जान नपाइने नियम कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार पदयात्री सूचना व्यवस्थापन प्रणाली कार्यविधिको शुभारम्भ गरे । यससँगै अब पदयात्रामा जान अनिवार्य पथप्रदर्शक चाहिने भएको छ ।

यस्ता पर्यटकसँग सम्बन्धित कम्पनीले टिम्स कार्ड पनि दिनुपर्छ । पदयात्रालाई सुरक्षित बनाउन र पदयात्रामा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न शनिबारदेखि लागू भएको पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम–टिम्स कार्ड)मा व्यवस्था भएबमोजिम पथप्रदर्शकबिना उच्च हिमाली क्षेत्रमा जान रोक लगाइएको छ।

कार्यविघिअनुसार कञ्चनजङ्घा बेसक्याम्प, लुम्बासुम्बा पास ट्रेक, मकालु हिमाल बेस क्याम्प, शेर्पेनी क्लोज पास टे«क, एभरेस्ट बेस क्याम्प, गोकियो ट्रेक, च्छो ल्हा पास ट्रेक, गोकियो रेन्जो ला पास ट्रेक, हुम्ला लिमी भ्याली, उपर डोल्पा, राउन्ड धौलागिरि, उपर मुस्ताङ ट्रेक, अन्नपूर्ण सर्किट ट्रेक, मनासलु हिमाल, गणेश हिमाल, लाङटाङ, गोसाइँकुण्ड, हेलम्बु, पाँचपोखरी, च्छो रोल्पालगायतका स्थलमा अनिवार्य रूपमा पथप्रदर्शक लिएर मात्रै पर्यटक जान पाउनेछन्।

पदयात्रासम्बन्धी नयाँ कार्यविधि लागू गरिए पनि खुम्बु पासाङ ल्हामु गाउँपालिकाले भने आफ्नो क्षेत्रभित्र एकल पदयात्रालाई निरन्तरता दिने जनाएको छ।


यस नियम लागू भएसँगै पर्यटकले व्यक्तिगत रूपमा घुम्न जाँदा सार्क मुलुकका पर्यटकले छ सय रुपियाँ तिर्दै आएकोमा अबदेखि एक हजार रुपियाँ तिर्नुपर्नेछ भने सार्क मुलुकबाहेकका पर्यटकले दुई हजार रुपियाँ तिर्नुपर्नेछ।