गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । घटनामा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बुधवार साँझ सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने स्थानमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा २७ वर्षिया गोमा नेपाली, २८ वर्षिया शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
घाइतेमध्ये ५ जनाको गुल्मी अस्पतालमा उपचार जारी छ । एक जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ । जीपमा ११ जना सवार थिए । प्रहरीका अनुसार जीपमा चढेका २ जना भने सकुशल छन् । जीप सडकबाट ६ सय मिटर झरेको छ ।