गुल्मीमा पहिरोमा परी एकै परिवारका ४ जनाको निधन

गुल्मी । गुल्मीमा पहिरोमा परी एकै परिवारका चार जनाको ज्यान गएको छ । अविरल वर्षा र त्यसपछि आएको पहिलोले घरमाथि ढुंगा खस्दा दूर्घटना भएको हो । घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी र उनका सन्तानको ज्यान गएको हो । उनका दुई छोरा ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति करिब साढे सात बजे भएको थियो ।

बीनाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा रहेको छ । घटनास्थलमा राती नै स्थानीय र प्रहरी उद्दारमा खटिएका थिए ।