गैंडा गणनामा खटिएका एक कर्मचारीको बाघको आक्रमणमा परी निधन

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एक कर्मचारीको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुलाई आइतबार बाघले आक्रमण गरेको हो । गैंडा गणनामा प्रयोग भएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र उनी घाँस काट्दै गरेको अवस्थामा बाघले साँझ ५ बजेतिर आक्रमण गरेको थियो ।

पछिल्लो दिनमा निकुन्ज भित्र बाघले मानिसमाथि अत्यधिक आक्रमण गरिरहेको छ । यसअघि एउटा बाघलाई प्रशासनले समाएर खोरमा थुनेको भएपनि खोरबाटै बाघ भाग्न सफल भएको थियो ।

थारुको शव ८ बजेतिर मात्र फेला पारिएको निकुन्ज प्रशासनले जनाएको छ । पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत रहेको निकुन्जले जनाएको छ । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएको समेत बताइएको छ ।