काठमाडौं । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन र निर्वाचनमा समनवय गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । निर्वाचनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउने भूमिका खेल्न भन्दै नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरुलाई पत्र लेख्दै यस्तो जानकारी गराएका हुन् ।
पत्र अनुसार यूरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापाले जिम्मेवारी पाएका छन् । एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र ओसियाना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जिम्मेवारी पाएका छन् । अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई तोकिएको छ ।
कांग्रेसले यसअघि नै एनआरएनएको निर्वाचनमा कुल आचार्य नेतृत्वको लोकतान्त्रिक समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ । एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबर २३-२५ मा हुँदै छ ।