गैरआवासीय नेपालीको लगानी रहने कम्पनी दर्ता सम्पन्न, अब आइपीओ जारी गर्ने तयारी

काठमाडौं । विदेशमा परिश्रम गरी कमाएको रकमले मातृभुमी नेपालमा लगानी गर्ने उद्देश्यले खोलिएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड नामक कम्पनी औपचारिक रुपमा दर्ता भएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नेतृत्वमा लगानी कम्पनी दर्ता भएको हो । यो कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत शेयर रहने भएका छ । बाँकि लगानी भने विदेशमा बस्ने गैरआवासीय नेपालीको रहने भएको छ ।

सङ्घले मङ्गलबार कम्पनी रजिष्ट्रारको कार्यालयबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार अहिलेसम्म उक्त कम्पनीमा दुई अर्ब रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भइसकेको छ । यसै हप्ताबाट उक्त रकम प्राप्त हुन थाल्नेछ ।
सङ्घले उक्त कम्पनीमार्फत नेपालका उद्यम, पूर्वाधार र व्यवसायका क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । प्रारम्भिक चरणमा दस अर्ब रुपियाँ लगानी गर्ने योजना बनाएको कम्पनीका लागि ८५ प्रतिशत रकम प्राथमिक सेयर (आईपीओ)मार्फत जुटाउने तयारी छ ।

उक्त प्रक्रिया पनि छिटै सुरु गरिने अध्यक्ष पन्तले जानकारी दिए । उनका अनुसार कम्पनीको आईपीओमा गैरआवासीय नेपालीले आवेदन दिन सक्ने छन् । आईपीओमा तोकिएकोभन्दा अधिक रकम प्राप्त भएको अवस्थामा उक्त रकमलाई पनि लगानी गर्ने सुविधासमेत सङ्घलाई उपलब्ध हुने छ ।

सङ्घका अनुसार अहिलेसम्म लगानीका लागि १७० वटा परियोजनाको प्रस्ताव आएको छ । त्यसमध्ये दुई दर्जन परियोजना छनोट गरेर सम्भाव्य क्षेत्रमा लगानी गर्ने सङ्घले जनाएको छ । सम्भाव्यता अध्ययनका लागि सङ्घले बैङ्कर अनलराज भट्टराईको संयोजकत्वमा विज्ञ टोली पनि गठन गरेको छ ।