काठमाडौं । काठमाडौंमा गैरआवासीय नेपालीहरुको ९ औं विश्व सम्मलेन जारी रहेको छ ।
बुधबार निर्वाचन हुने र बिहीबार निर्वाचनको नजिजा सार्वजनिक भई नयाँ नेतृत्वलाई पदभार ग्रहण गरी सम्मेलन समापन हुने योजना रहेकोमा सम्मेलन लम्बिएको छ ।
बुधबार राति हुने भनिएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित भएको छ । विश्वभरबाट आएका गैरआवासीय नेपालीले नयाँ नेतृत्व चयन गर्न लाइन बसिसकेका थिए ।
तर, साँझ अकस्मात मतदान स्थगित भएको घोषणा भयो । आयोजकले विद्यूतीय मतदान गर्ने भोटिंग मेसिन बिग्रिएको बताएको छ ।
तर, आन्तरिक विवाद उत्पन्न भएपछि मतदान नै रोकिएको हो । सम्मेलनमा विधानविपरीत प्रतिनिधिको घुसपैठ भएको भन्दै निर्वाचन समितिमा उजुरी परेको स्रोतले जानकारी दिएको छ ।
सोहीकारण मतदान रोकिएको हो । मतदान रोकिएपछि आक्रोसित गैरआवासीय नेपालीले हायात होटेलमा तोडफोड गरेका छन् ।
कुर्सी भाच्ने तथा चर्को नाराबाजी गरेका छन् । उनीहरुले बुधबार दिनभरजसो होटेल परिसरमा होहल्ला गर्दै ताण्डव देखाएका थिए
गैरआवासीय नेपालीको यस्तो हर्कतको भने सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ ।
कतिपयले भनेका छन्, ‘तिमिले छाडेर गएको नेपाल निकै सभ्य भइसकेको छ महासय, तिमी त अझै उस्तै रैछौ ।’ अर्का एक फेसबुक प्रयोगकर्ताले भनेका छन्, ‘२०६३\६४ सालताकाका वाइसीएल र यूथफोर्स विदेश पसेर एनआरएन भएका रैछन्, आफ्नो पारा देखाए ।’
खासगरी निर्वाचनमा राजनीति नघुसाउने बताएका गैरआवासीय नेपाली आफै नेकपा र कांग्रस खेमा गरी विभाजित भई निर्वाचनमा होमिएपछि निरन्तर विवाद भइरहेको छ ।