काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नेपाल आउन अनुमति दिएको छ । नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारका सदस्यलाई यात्रा सुरु गर्नुभन्दा अघि बढीमा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोटका आधारमा नेपाल प्रवेश अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत विदेशी नागरिक र उनीहरुका परिवारलाई समेत पीसीआर रिर्पोटका आधारमा नेपाल प्रवेशको अनुमति दिने निर्णय सरकारले गरेको छ ।
पीसीआर रिर्पोट भएका अभिभावकका ५ वर्ष मुनीका बालबालिकाको हकमा भने पीसीआर आवश्यक पर्ने छैन । पीसीआर अन्तर्गत आरटी पिसिआर, जीन एक्पर्ट, ट्रु नाट वा सो सरहका परीक्षणलाई समेत सरकारले मान्यता दिने निर्णय गरेको छ । सरकारले अब नियमित उडान सूचारु भएका कारण विदेशबाट नेपालीका लागि भने उद्धार उडान नगर्ने भएको छ ।
लकडाउनयता २२ कात्तिकसम्म कुल ९११ वटा अन्तर्राष्ट्रिय उडानबाट १ लाख ३६ हजार २ सय १६ जना नेपाली घर आएका छन् । कुल ८६ मुलुकबाट नेपाली घर फर्किएको तथ्यांक छ । यसबीचमा ४२७ जना नेपालीको शवसमेत नेपाल ल्याइएको छ ।