काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माले कतारबाट अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा १७ अक्टोबरदेखि तीन दिनसम्म हुने एनआरएनएको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । त्यसका लागि शर्माले औपचारिक रुपमा कतारबाट उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि महेश श्रेष्ठले काठमाडौंमा औपचारिक रुपमा उम्मेदवारी घोषाणा गरिसकेका छन् ।
दोहास्थित र्याडिसन ब्लु होटलमा मध्यपूर्वलगायत विभिन्न देशका एनआरएनएका अध्यक्षहरु तथा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै शर्माले आफू अध्यक्ष पदमा निर्वाचित भए २४ महिनामा २४ काम गर्ने बाचासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र पनि सार्वजनिक गरेका हुन् ।
विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको उनले बताए । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने दाबी गरे ।
बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, ‘मैले आईसीसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाईं हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।’
अध्यक्ष पद प्राप्त गर्ने आफ्नो अभिलाषा नभएको बताउँदै उनले एनआरएनएका लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्रै खोजेको बताएले । ‘मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु,’ उनले भने ।
आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सार्वजनिक गर्ने उनले बाचा समेत गरे । शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।