अमृता के सी ( रोनी )
काठमाडौं/गोकर्णेश्वर नगरपालिकाको गोकर्ण स्थित महिला संजालको भवनमा फागुन १४ गते देखि लगातार पाँच दिन सम्म संचालित महिला कानूनी साक्षरता तालिम सम्पन्न भएको छ।शिक्षालय नेपालको आयोजनामा सम्पन्न साक्षरता तालिमको समापन गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ति नेपालले गत १८ गते मंगलबार गरिन्।
शिक्षालय नेपालका अध्यक्ष श्याम तन्डुकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका सामाजिक बिकास शाखा प्रमुख भिमा थापा,गो न पा ४ नम्बर वडा सदस्य जयराम महत,संचारकर्मी बाल मुकुन्द आचार्य,सहयात्रा कार्यक्रमको निर्देशक गोबिन्द रेग्मी,महिला संजालको सचिब अम्बिका निरौला लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उप प्रमुख नेपालले पुरुष प्रधान समाजको कारण एकाइसौं शताब्दीमा आइपुदा पनि हाम्रो देश नेपालमा महिला माथी विभेद,हिंसा भैरहेकोले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आफ्नो हक अधिकारको लागि आवाज उठाउन साथै अन्याय नसहन र नगर्न आग्रह गरिन्।नेपालले यदि कसैलाई अन्याय भएको छ भने पनि सम्बन्धि निकायमा खबर गर्न समेत आग्रह गरिन्।महिला कानुनी साक्षरता तालिममा सहभागी सबैलाई बधाई तथा शुभकामना दिदै उप प्रमुख नेपालले समृद्ध राष्ट्र निर्माणमा महिलाको भुमिका अहम् हुने भएकोले तालिमले कानुनी ज्ञान बढाउनुको साथै महिलाहरुलाई अघि बढ्न मद्दत पुग्ने कुरा बताइन्।
गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा संचालित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका करिव ४० जना महिलाहरुले सहभागीता जनाएका थिए।प्रशिक्षक अधिवक्ता सिर्जना बिष्टले महिलाको हक तथा अधिकार,नेपालको संविधानका धाराहरु,महिला हिंसा लगायतको बिषयमा साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुको बारे प्रष्ट छर्लङ्ग हुने गरि अन्तरक्रिया सहित तालिम दिएकोमा आयोजकले सम्मान गरेको थियो।कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण साथै यातायातको लागि खर्चको समेत व्यवस्था गरिएको थियोे।
