अमृता के सी ( रोनी )
काठमाडौं, भाद्र १। गोकर्णेश्वर नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप कर्ताहरुलाई शपथ ग्रहण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शपथ ग्रहण कार्यक्रम नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

आइतबार गोकर्णेश्वर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा उप प्रमुख एवं न्यायिक समिती संयोजक शान्ति नेपालले मेलमिलाप कर्ताहरुलाई शपथ ग्रहण गराएकी थिइन्। कार्यक्रममा मेलमिलाप कर्ताहरुलाई शपथ ग्रहणका साथै अभिमुखीकरण तालिम समेत गराइएको थियो।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद आचार्य, वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, नगरका विभिन्न शाखाका पदाधिकारीहरु लगायत मेलमिलाप कर्ताहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले शपथ लिएका सहजकर्तालाई नगरको न्यायीक क्षेत्र संग जोडिएको बताउदै नगर भित्रको झैझगडा, विकृति , विसंगती जस्ता नराम्रो कुराहरूमा सर्वसाधारण जनताहरुलाई आपसमा मेलमिलाप गराइ समाजमा शान्ति, अमन चयन राख्न मेलमिलापकर्ताहरुले ठूलो सहयोगी भुमिका खेल्ने बताए ।साथै उनले भने ” नगरको सबै वडाहरुमा मेलमिलापकर्ता हुँदा न्यायीक क्षेत्रमा नगरपालिकाले ठूलो फड्का मार्ने कुरामा नगरपालिकाले विश्वास लिएको बताए “।

नगर उप प्रमुख एवं कार्यक्रमका सभापती नेपालले मेलमिलापकर्ताको आवश्यकता, गर्नुपर्ने काम, कर्तव्य र अधिकारबारे जानकारी गराइन्।उनले मेलमिलाप कर्तालाई कुनै पनि उजुरी र मुद्दालाई कसैको पक्ष/विपक्ष नभनि दुबै पक्षलाई समझदारीको रूपमा आफ्नो ढंगले वडामै मेलमिलाम गराउन आग्रह गर्दै आज सम्म मेलमिलाप कर्ताले गरेको कार्यको प्रशंसा समेत गरिन्।नगरको ९ वटा वडामा गरि करिब ६१ जना मेलमिलाप कर्ता र ४ जना अधिवक्ता समेत सुचिकृत हुन आएको जानकारी गराइन्।न्यायीक समिति, नगरपालिका र वडाका मेलमिलाप कर्ता मिलेर नगरको न्यायीक समितिमा परेका उजुरी जस्तै घरेलु हिंसा, सिमाना, विकृती, विसंगति लगायतका मुद्दाहरुलाई मेलमिलाप गरि पठाउन सहज वातावरण सिर्जना भएको बताइन्।
