काठमाडौँ, असोज २४ ।गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सिमानामा स्थित पानी खोल्सामा स्थानियको विरोधको बाबजुद नियम विपरीत संचालित अस्फाल्ट प्लान्ट ( बिटुमिन) कारखाना शनिबार स्थानियहरुले तोडफोड गरेका छन् ।करिब ७० को संख्यामा जम्मा भएका स्थानियहरुले वातावरण प्रदुषण भएको भन्दै नियम विपरीत खोलिएको उक्त कारखाना तोडफोड गरेका हुन् ।

स्थानीय जनतालाई जानकारी समेत नदिई करिब ३ महिना अगाडि संचालन गरिएको उक्त कारखानाबाट निस्किएको धूवाँको मुस्लोले ५ वटा गाउँलाई प्रदुषित गरेपछि स्थानीयहरु विरोधमा उत्रिएका थिए। स्थानीयको चर्को विरोध पछि प्राविधिक रूपमा गोकर्णेश्वर नगरपालिका भित्र गैरकानुनी रुपमा संचालित कारखाना बन्द गराउन नगर प्रमुख सन्तोष चालिसे र वडा अध्यक्ष राजिव थापा माथी दबाब परेको थियो ।स्थानीयको चर्को विरोध पछि त्यतिबेला नगर प्रमुख चालिसेले सात भित्र अस्फाल्ट कारखाना हटाउने वचन दिएका थिए।नगर प्रमुख चालिसेको वचन बद्दता पछि कारखाना साच्चै बन्द भएको जन विश्वास थियो। तर बर्खा सिद्दिए लगत्तै राती-राती अस्फाल्ट कारखाना संचालन गरि वातावरण प्रदुषण भएपछि स्थानीयहरु रात भर सुत्न नसकेको गुनासो गर्दै आएका छन् ।समस्यामा परेका स्थानीयहरु एक हप्ता भरी सामाजिक संजाल मार्फत जोडिएर शनिबार कारखाना तोडफोड गर्न उत्रिएका हुन्। यसै विषयमा गोकर्णेश्वर वडा नं ९ का वडा अध्यक्ष थापाले उक्त अस्फाल्ट प्लान्ट वडाले पहिले बन्द गर्नु भनेर पत्र काटि सकेकोले नियम बमोजिम हटिदिन अनुरोध गरेका छन्।साथै स्थानियहरुलाई आक्रोशीत नभई समझदारीमा आउन आग्रह गरे।

नियम विपरीत खोलिएको भनिएको उक्त कारखाना गोकर्णेश्वर नगर प्रमुखको घर भन्दा करिब २०० मिटरको दुरिमा रहेको छ।