गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा शुभारम्भ


अमृता के सी ( रोनी )
काठमाडौं, भाद्र २१। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णमा रहेको गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा शुभारम्भ भएको छ। आइतबार नगर प्रमुख चालिसेले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका हुन् ।

” गोकर्णेश्वर नगरपालिकाको चाहना स्वास्थ्य जीवनको कामना ” भन्ने मुल नाराको साथमा गोकर्ण प्राथमिक अस्पतालबाट नियमित तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउदै आइरहेकोमा सेवाग्राहीलाई सहज रुपमा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले विशेषज्ञ सेवा शुभारम्भ भएको जानकारी गराइएको छ। विशेषज्ञ सेवा अन्तर्गत स्त्री रोग ,बाल रोग, जनरल फिजिसियन र रेडियोलोजिष्ट सहितका सेवा सर्वसुलभ मुल्यमा उपलब्ध गराउने भएको छ।

स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै गोकर्ण प्राथमिक अस्पताल व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठले वि.सं.२०३२ मा स्थापना भएको स्वास्थ्य चौकीलाई २०७६ साल असारमा गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्र विशेषज्ञ सेवा सहित १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको जानकारी गराएका थिए ।कार्यक्रममा डा .सुवास प्याकुरेलले शुभकामना मन्तब्य सहित विशेषज्ञ सेवाको बारेमा जानकारी गराएका थिए। उनले गोकर्ण प्राथमिक अस्पतालाई केन्द्रमा राखेर नगरपालिकाको दुर्गम भागहरुमा समेत स्वास्थ्यको पहुच पुर्‍याउनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै उप प्रमुख शान्ति नेपालले विगतको गोकर्ण प्राथमिक अस्पतालको अवस्थाबारे अवगत गराउदै लामो समयको पहल पश्चात सुबिधा सम्पन्न अस्पताल निमार्ण गरि उक्त सेवा शुचारु गर्न पाउदा खुसि लागेको जानकारी गराएकी थिइन्। उनले आफु पनि महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा काम गरेको स्मरण गर्दै महिला स्वास्थ्य स्वयं सेविकाको सेवा सुबिधालाइ क्रमिक रुपमा वृद्दि गर्न आफुले पहल गरेको पनि जानकारी गराएकी थिइन्।कार्यक्रममा कोभिड महामारी न्यूनीकरणमा सहयोग गरेका डा. सुबास प्याकुरेललाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले गोकर्ण अस्पतालको क्षमता वृद्धि गर्ने क्रममा २०७६ घोषणा पश्चात अस्पतालको स्वरुपमा परिवर्तन आएको र नगरपालिकाले सबैको सहयोगमा सो अस्पताललाइ पूर्ण क्षमतामा संचालन गर्न सफल भएको बताए ।निम्न आय भएका व्यक्ति बिरामी भएको खण्डमा अन्य अस्पताल जाँदा धेरै पैसा खर्च हुने बताउदै गोकर्ण प्राथमिक अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।आगामी दिनमा पनि उक्त अस्पताललाइ नगरपालिकाको सहयोग रहने जानकारी गराएका थिए ।

गोकर्णेश्वर वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, नेकपा एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य एवं प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ, यज्ञडोल जगडोल सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, वडा नं ४ का वडा सदस्य जयराम महत, वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, डा. सुवास प्याकुरेल, महानगरीय प्रहरी प्रभाग गोकर्णका प्रमुख प्र.ना.नि. रामजी घिमिरे, गोकर्ण महिला संजालको अध्यक्ष अम्बिका पौडेल लगायत गोकर्ण प्राथमिक अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयं सेविका लगायत स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष एवं गोकर्ण प्राथमिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री कुमार श्रेष्ठले अस्पतालमा अन्य सेवाहरु पनि क्रमिक रुपमा विस्तार गर्दै जाने बताए । उनले उक्त अस्पतालबाट विशेषज्ञ सेवा लिन साथै आर्थिक अवस्था कमजोर भइ अस्पताल जान नसक्नेहरुले समेत सर्वसुलभ सेवा प्राप्त गरुन् भन्ने उदेश्यले सेवाको प्रचार प्रसार गर्न अनुरोध गरेका थिए ।साथै जेष्ठ नागरिक, गरिब, अपांग भएका व्यक्ति, विपन्न परिवार, असाहय र एकल महिलाहरुलाई वडा कार्यालयको सिफारिसको आधारमा छुटको व्यवस्था गरिने समेत जानकारी दिएका थिए ।