गोकुल बास्कोटाको कटाक्ष-‘अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरुको सत्ताको चास्नीमा रंग फेरियो’

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन् ।

प्रतिनिधिसभामा जारी नागरिकता विधेयकमाथिको छलफलमा भाग लिएका बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति प्रहार गर्दै यति छिटो छिटो रंग बदल्न नहुने बताएका हुन्।

‘ट्रकमा चढेर आऊ, ट्रेनमा चढेर मेरो मुलुकमा आऊ भन्ने देशले पनि नागरिकता दिनका लागि खास अवधि राखेको हुन्छ ।

तर, यहाँ कुनै अवधि नै नराखी नागरिकता दिन खोजिएको छ,’ सांसद बाँस्कोटाले भने, ‘तर, हिजो अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरु सत्ताको चास्नीको भरमा अहिले आउनेबित्तिकै नागरिकता दिनुपर्छ भनेर सहमत भएका छन, छेपारोले पनि यति चाँडो रंग फेर्दैन होला, जो अहिले साथी (माओवादी)ले फेर्नु भएको छ ।’

नागरिकतासम्बन्धी प्रावधानमा माओवादी लचिलो बनेपछि विदेशबाट बिहे गरेर आउने बुहारीहरूलाई तत्कालै नागरिकता दिने प्रावधानसहित संसदबाट कानुन पास हुन लागेका बेला बास्कोटाले आक्रोश पोखे ।

उनले प्रदेशमा पहिचानको विषय राख्नुपर्ने भनिएकोमाथि पनि आपत्ति जनाए। बाँस्कोटाले नागरिकतामा खुकुलो प्रावधान राख्दा मुलुक फिजीकरण हुने भन्दै सचेत हुन आग्रहसमेत गरेका छन ।

‘पेरुमा जापानी नागरिक राष्ट्रपति भएको जस्तो नहोस्, फिजीमा भारतीय नागरिक प्रधानमन्त्री भएको जस्तो नहोस्’ बाँस्कोटाले प्रतिनिधिसभा बैठकमा भने, ‘त्यसैले नागरिकता दिँदा निश्चित अवधि तोकिनुपर्छ, आउनेबित्तिकै टीका लगाएर दिने प्रावधान खारेज गरिनुपर्छ ।’