गोरखामा बस दुर्घटनामा परी २२ घाइते, चालक भागे

गोरखा । काठमाडौंबाट गोरखातर्फ लागेको यात्रुबाहक बस गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार दुर्घटनाग्रस्त हुँदा २२ यात्रु घाइते भएका छन् । उनीहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । गम्भीर घाइते अवस्थामा रहेका ५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

अन्य घाइतेको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार जारी छ । दुर्घटनापछि बसका चालक भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।