गोरखा । नजिकिएको तिहारलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । कोराना भाइरस संक्रमणको डर रहेको भन्दै तिहारमा जिल्लामा देउसी भैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने गर्न पाइने छैन ।
तिहार आफू र आफ्नो परिवारसँगै मनाउन र विगतमा जस्तो आफन्तकोमा जाने, भिड गर्ने काम नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आग्रह गरेकी छन् ।
तिहारमा जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।
धार्मिक स्थल जस्तै चर्च, मस्जिद, गुम्बाहरुमा भेला भई कार्यक्रम गर्ने, प्रार्थना गर्ने, संगती गर्ने काम समेत रोक लगाइएको छ ।
कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार र भुइचम्पा, पटका आतिशबाजी जस्ता विस्फोटक पदार्थको कारोबार र प्रयोग गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ