गोर्खा सैनिकमा ६ वर्ष सेवा गरेका नेपालीले बेलायतको नि:शुल्क भिसा पाउने

काठमाडौं । गोर्खा सैनिकमा ६ वर्ष सेवा गरेका नेपालीले बेलायतको निःशल्क भिसा पाउने भएका छन् । हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याउँदै यस्तो सुविधा दिएको हो । राससका अनुसार बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको हो । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ ।

बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र गृहमन्त्री प्रिती पटेलले लण्डनस्थित सेनाको मुख्यालयमा गैरबेलायती सैनिकको भेलामा उक्त घोषणा गरेका हुन् । भिसा शुल्क छुटको सुविधा पहिले नै अवकाश लिएकाहरूका हकमा पनि लागू हुने जनाइएको छ । रक्षामन्त्री वालेसले विदेशी मुलुकका नागरिकले बेलायती सेनामा पु¥याएको योगदानको कदरस्वरूप भिसा शुल्क नलिने निर्णय लिइएको बताएका छन् ।

सरकारको नयाँ नीतिपछि अब बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका र सेवाकै क्रममा घाइते वा बिरामी परेर अवकाश लिने विदेशी नागरिकले बेलायतको भिसा लिन कुनै शुल्क तिर्नुपर्ने छैन । बेलायती सेनामा क्यानडा, फिजी, अष्ट्रेलिया, धाना, भारत, जमइका, नेपाल, न्यूजील्याण्ड, नाइजेरिया, सेन्ट लुसिया र दक्षिण अफ्रिकाका गरी नौ हजार जति गैरबेलायती रहेका बताइन्छ ।

बेलायतमा सेटलमेन्ट भिसा आवेदन गर्दा अहिले प्रतिव्यक्ति दुई हजार ३८९ पाउन्ड शुल्क बुझाउनुपर्छ । बेलायतका लागि व्यक्तिगतरूपमा गरेको योग्दानको मूल्याङ्कनस्वरूप यो कदम चालिएको र यसबाट गोर्खा र कमनवेल्थका अन्यलाई पनि सहयोग पुग्ने गृहमन्त्री पटेलले बताए ।