गोविन्द केसी र सरकारबीचको वार्ता आज पनि असफल, अनसन तोड्न सरकारको आग्रह

काठमाडौं । सरकारले अनसन तोड्न डा. गोविन्द केसीसँग आग्रह गरेको छ । डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच शनिबार समेत सहमति नबनेपछि सरकारले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको हो । सहमति प्रयास शनिबार समेत गरिएको थियो । तर, सफल हुन सकेन । त्यसपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार एक वत्तव्य जारी गरेर डा. केसीलाई उक्त आग्रह गरेको हो ।

सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विभिन्न तह तथा विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सालवसाली बजेट विनियोजन गरेर योजनाजद्ध रुपमा काम भइरहेको सरकारको भनाई छ ।

गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माण भइरहेको सन्दर्भमा केसीका माग सम्बोधन भइरहेको सरकारको धारणा छ । सरकारी वार्ता टोलीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोग समक्ष स्वयंम मुल्यांकन प्रतिवेदन पेश भइसकेको छ ।

प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्न बर्दिबास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजना स्वीकृत भइसकेको छ वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिम चरणमा रहेको वार्ता टोलीले उल्लेख गरेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्न गुरुयोजना पारित भइसकेको समेत सरकारको दावि छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु भएको बताइएको छ ।

डोटी,डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न प्रारम्भीक सम्भाव्यता अध्ययन भएर प्रतिवेदन आइसकेको सरकारी टोलीले उल्लेख गरेको छ । सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास समिति बनिसकेको सरकारी वार्ता टोलीले दावि गरेको छ ।