काठमाडौं । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजले सफल अवतरण भएको छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको यो विमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीबार साँझ सफल अवतरण गरेको हो। काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा भएको परीक्षण उडानमा २६० जना यात्रु सहभागी थिए।
जसमा प्राधिकरणका उच्च अधिकारी, निगमका कर्मचारी, उच्च सरकारी अधिकारी, एसियाली विकास बैंकका प्रतिनिधिलगायत थिए। सञ्चारकर्मी, पर्यटन व्यवसायीसहित उडान भरेर आएको विमान काठमाडौंबाट भैरहवामा ५० मिनेटमै अवतरण गरेको थियो। विमानस्थलमा पहिलो पटक ठूलो विमानको अवतरण भएपछि पर्यटन व्यवसायी मात्रै होइन यस क्षेत्रका सर्वसाधारण समेत निकै उत्साहित भएका छन्।
नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा निगमले हालै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेको हो। प्राधिकरणले निगमसँग भएका दुईवटा वाइडबडी विमानलाई बिहीबारका लागि परीक्षण उडानका लागि अनुमति दिएको थियो। यस उडानमा वाइडबडीका प्रशिक्षक पाइलट सुधीर तोमार र क्याप्टेन श्रवण रिजाल रहेको निगमले जनाएको छ। करिब १६ हजार फिट माथिबाट उडान भरेको वाइडबडी गौतम बुद्व विमानस्थलमा एक फन्को मारेर अवतरण गरेको हो। भैरहवामा अवतरण गरेसँगै यात्रुले खुसियाली व्यक्त गरेका थिए।