गौरीका र मन्देकाजी बने वर्ष खेलाडी (कसले कुन अवार्ड जिते)

गौरिका सिंह

काठमाडौं । पौडीबाज गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ २०७६ सालका लागि वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’मा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । २०७६ साल भित्र भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा मनोनयन गरी पब्लिक भोटिंग समेत गरिएको थियो ।

यस प्रतिस्पर्धामा मन्देकाजीले सुवास तामाङ (गल्फ), कमल श्रेष्ठ (तेक्वान्दो), गोपीचन्द्र पार्की (एथलेटिक्स) र विकेश कुथु (फुटबल) रहेका थिए । यी सबै खेलाडी अघिल्लो वर्ष नेपालमै सम्पन्न १३औं सागका स्वर्ण विजेता हुन् । मन्देकाजी सागमा (टिम काता र एकल) गरी दुई स्वर्ण जित्ने खेलाडी हुन् ।

महिला तर्फ भने गौरिकाले अनु अधिकारी (कराते), आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र सोनी गुरुङ (ट्रायथलन) लाई पछि पार्दै अवार्ड जितेकी छिन् । यी सबै खेलाडी समेत सागका स्वर्ण विजेता हुन् ।

गौरिकाले १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक गरी नौ पदक प्राप्त गरेकी हुन् । वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । अन्य विधामा विजेता बनेका खेलाडीलाई भने जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
कुन खेलाडीले कुन अवार्ड जिते ?
उत्कृष्ट खेलाडी (पुरुष) : मन्देकाजी श्रेष्ठ (कराते)
उत्कृष्ट खेलाडी (महिला) : गौरिक सिंह (पौडी)
पिपल्स च्वाइज : अरुणा शाही (भलिबल)
उत्कृष्ट प्रशिक्षक : नवीन श्रेष्ठ (तेक्वान्दो)
उत्कृष्ट युवा खेलाडी : सुवास तामाङ (गल्फ)
पारा एथ्लेट ‍: दिगमसिंह चेम्जोङ (पारा क्रिकेट टोलीका कप्तान)
स्पेशल अवार्ड : आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स)
टिम अफ दि इयर : महिला भलिबल
लाइफटाइम अचिभमेन्ट : सिजरन शाह र गीता क्षेत्री (टेबलटेनिस)