काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ग्राहकले आफ्नो खाताबाट २ लाख रुपैयाँसम्म रकम निकाल्न चेक वा एटीएम नचाहिने भएको छ । यो बैंकका ग्राहकले २ लाख रुपैयाँसम्म निकाल्न क्यूआरमार्फत नगद भुक्तानी दिने व्यवस्था मिलाएको हो । बैंकले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्न यो सुविधा शुरु गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए ।
बैंकले मोवाइल बैंकिङ्ग सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्नेछन् । यो सुविधा सबै शाखा कार्यालयहरुको काउण्टरमा उपलब्ध हुने बैंकले जनाएको छ । योसँगै अब सिमित कारोबरको लागि बैंकमा चेक बोकेर जानु पर्दैन । बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ । हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा संचालनमा छन् ।