ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर बन्दै, निर्माण यसै साताबाट शुरु

काठमाडौं । चक्रपथ अन्तर्गत ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाइओभर बन्ने भएको छ । संरचना निर्माणको काम सोमबारबाट शुरु हुन लागेको हो । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार डिजाइनसहितको पूर्वतयारी सकिएको छ । आगामी शुक्रबारबाट काम थाल्ने तयारी छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम–एस आशिष–समानान्तर (जेभी)ले ठेक्का पाएको छ ।

२०७८ फागुन १९ मा फ्लाइओभरको डिजाइन सुरु भएको थियो । चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गरिँदैछ । सोही क्रममा ग्वार्को चोकमा फ्लाइओभर निर्माण हुन लागेको हो । सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको बन्नेछ । निर्माण भइसकेपछि यस चोकमा चक्रपथका सवारीसाधन फ्लाइओभर भएर आवतजावत गर्नेछन् ।

पाटन, ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभरको मुनिबाट ‘क्रस’ गर्ने छन् । फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ । फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ । ओभरपासमा सवारीसाधन चढ्न दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्याम बन्ने भएको छ । चक्रपथको मुख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् ।

फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेल बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने भएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।