घरजग्गा कारोबारको करोडौं कमिसन हत्याउन साझेदारलाई मारेका मन्डलसहित तीन जना सार्वजनिक

काठमाडौं । तीन जना व्यावसायिक साझेदारको हत्या गरि करोडौं रुपैया कमिसन खान खोजेका अनिल कुमार मन्डल र उनले परिचालन गरेका दुई जनालाइ प्रहरीले सार्वजनिक गरेको छ  । तीन जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । मोरङ प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरेर आर्थिक कारोबारमा विवाद आएपछि हत्या गरेको आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलसहित तीन जनालाई सार्वजनिक गरेको हो ।  
आरोपीहरूमा सिरहा नगरपालिका २१ सिरहा घर भइ काठमाणडाैकाे बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका ४ सिस्वनी घर भएका अमित साह भनिने दीनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलम छन् ।

अनिल मण्डलको योजनामा आफ्ना साझेदारहरू ४८ वर्षीय राजेन्द्र श्रेष्ठ, ३२ वर्षीय शम्भु चौधरी र मोहन लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ ।  हत्यापछि श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका ७ मा उखुबारीमा गाडिएको अवस्थामा भेटिएको थियो । ६२ वर्षीय लिम्बूको शव हिजो बिहीवार ललितपुर महानगरपालिका १२ ठेचोमा गाडिएको अवस्थामा भेटिएको थियो ।
मुख्य आरोपी अनिलको जग्गा प्लटिङ र हाइड्रोपावर परियोजनासम्ममा लगानी रहेको प्रहरीको भनाइ छ । कारोबार रकम एकलौटी पार्ने उद्देश्यले साझेदारहरूको हत्या भएको हो ।