काठमाडौं । दसैँ नजिकिएसंगै अधिकांशले यसका लागि आवश्यक लुगाकपडा, खाद्यान्न, माछामासु र दक्षिणा दिने रकमको जोहो गरिसकेका छन् भने कोही जोहो गर्दैछन् ।
टीकापुरकी मनिषा रम्फेलीको घरमा दसैँको सबै तयारी भएको छ । उनको परिवारले दसैँमा माछामासु धित मरुञ्जेल खान्छन् । मनिषाको घरमा दसैँका समयमा टन्नै मासु पाक्छ । आफूहरु पनि खाने र अरुलाई पनि खुवाउने गरिएको उनी बताउछिन् ।
“दसैँमा सकेसम्म घरमै खसीबोका काट्छौँ, नकाटे पनि पाँच÷सात किलो मासु किन्छौँ”, रम्फेलीले भन्छिन्, “चाडपर्वमा त सबैले पेटभरि खान्छौँ, दसैँ भनेको माछामासुले पेट भर्ने पर्वजस्तो लाग्छ । दसैँमा अष्टमीदेखि पूर्णिमासम्म माछा मासु खाइन्छ ।”
चाडपर्वलाई महत्वका साथ मनाउने गर्दछन् । चाडपर्व भनेपछि मानिसको खुसीसँग जोडिन्छ । पर्वले मेलमिलाप, खुसी र एकताको सन्देश दिन्छ । दसैँको तयारी सुरु भएपछि हरेक मानिसका घरमा आवश्यक खाद्यान्न, तरकारी तथा माछा मासुको जोहो सुरु भएको छ ।
त्यस्तै, बिन्तिराम चौधरीको घरमा पनि चाडपर्वमा मासु बढी पाक्छ । घरमै खसी काटेर आफू र आफ्ना आफन्तलाई खुवाइन्छ । बिन्तिरामको घरमै माछामासु पाके पनि उनको परिवार स्वास्थ्यबारे भने सचेत रहेको उनी बताउछन् ।
“माछा मासु तथा चिल्ला खानेकुरा बढी पाक्छन्, अन्य समयभन्दा बढी खाइन्छ”, उनी भन्छन्, “माछा मासु तथा चिल्ला खानेकुरा खान्छौँ साथमा त्यसलाई पचाउने खालका खानेकुरा पनि खाने गरेका छौँ । सलाद, फलफूल र सागपात पनि अनिवार्य खाइन्छ यो समयमा ।”
लम्की चुहा–१ का रुपेश न्यौपानेको घरमा पनि विगतका वर्षमा माछा मासु बढी पाक्थ्यो । गत वर्ष खसीको मासु धेरै खाएकै कारण रुपेशका बुबा बिरामी भएपछि यस वर्ष उहाँहरु माछामासुको बढी प्रयोग नगर्ने तयारीमा हुनुहुन्छ । “गत वर्ष मासु अपच भएर बुबा दसैँकै समयमा बिरामी भ । तीन दिन अस्पताल बस्नुप¥यो”, उनी भन्छन्, “माछामासु र चिल्ला खानेकुरा धेरै खान नहुने रहेछ । यस वर्ष हामी पर्व मनाउनका लागि मात्रै थोरै मासु किनेर खाने तयारीमा छौँ ।”
मासुमा प्रोटिन त पाइन्छ तर पाचन प्रक्रियालाई चाहिने रेशेदार छोक्राबोक्रा नहुने र बोसो बढी हुने भएकाले पच्न गाह्रो हुन्छ । मासु पच्न धेरै समय लाग्छ र मासु खाँदा शरीरमा भारीपन आई आलस्य बनाउने भएकाले मानिसको स्वास्थ्यमा विभिन्न असर गर्नसक्ने भएकाले चाडपर्वमा मासु धेरै खान नहुने टीकापुर अस्पतालका डा संवाद खरेल बताउछन् ।
“माछामासु धेरै खाँदा क्षणिकदेखि लामो समयसम्म असर हुन्छ, क्षणिक असरमा अपच हुनसक्छ, युरिक एसिडको समस्या भएकालाई असर गर्छ”, डा खरेल भन्छन्, “कोल्डस्टोर बढेर जाने भएकाले पाचन र कलेजोसम्बन्धी समस्या हुनसक्ने भएकाले सचेत हुनुपर्छ । कुनै पनि खानेकुरा आवश्यकता भन्दा बढी खान हुँदैन ।”
डाक्टर खरेल मासु खाइहालेमा प्रशस्त हरियो सागसब्जी, गाजर, फलफूलसँग मिलाएर खाँदा जति हानी गर्ने हो त्यसबाट बच्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिन्छन् । “खसीको मासु र भात धेरै खान हुँदैन, हामी कहाँ धेरै खाने चलन छ”, उनी भन्छन्, “झोलिलो कुरा, सागपात, रेसादार तरकारी तथा फलफूल बढी खानुपर्छ ।”