चार देशीय टी-२० सिरिज : आज नेपाल र आयरल्याण्ड भिड्दै

File

काठमाडौं । ओमानमा जारी चार देशीय टी २० सिरिजमा आज नेपाल र आयरल्याण्ड भिड्ने भएका छन् । यो नेपालको तेस्रो तथा अन्तिम खेल हो । खेल मस्कटस्थित अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुने कार्यक्रम छ । ओमानमा १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप सिरिज भइरहेको छ ।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।
नेपालले आयरल्याण्डसँग यसअघि दुई टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलमा नेपाल पराजित भएको इतिहास छ ।