चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा

नेपाल-चीनको सिमाना हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय र आसपासको क्षेत्र । गत वर्ष पुस १० गतेबाट अत्याधिक चिसोका कारण बन्द रहेको कार्यालय चार महिनापछि अहिले सञ्चालनमा आएको छ । तस्बिर ः कालीबहादुर थापा / रासस

१५ वैशाख, हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । “तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ”, कार्यालय प्रमुख जैसीले बताए ।

सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।