चार वटा राष्ट्रिय निकुन्जमा गैंडा गणनाको तयारी

काठमाडौं । यो वर्ष नेपालमा गैंडा गणना हुने भएको छ । पछिल्लो दुई वर्षयता गैंडा गणना हुन सकेको छैन । चालु हिँउद मै गैंडा गणनाको तयारी रहेको राष्ट्रिय समाचार समितिले लेखेको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणना गर्न ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विसं २०७४ मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा बगाएपछि त्यसको पछिल्लो वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी थियो ।

त्यतिबेला नेपाल सरकारले बजेट विनियोजन नगरेको र दाताको भर पर्दा बजेटको अभावमा गणना हुन नसकेको राससमा उल्लेख छ । गत वर्ष गणनाको तयारी भएको भए पनि कोभिड –१९ को कारण अन्तिम समयमा गएर रोकिएको थियो ।

सूचना अधिकारी आचार्यका अनुसार यस वर्ष गणनाको तयारी गरिएको हो । गणकको तालीमलगायत काम पुनः गर्नुपर्ने भएको छ । जाडोयाम सकेर घाँस सुकेपछि जङ्गल उजाड भएको समयमा गणनाका लागि उपयुक्त मानिन्छ । सूचना अधिकारी आचार्यका अनुसार फागुनदेखि वैशाखसम्मको समयलाई गणनाको लागि उपयुक्त हुन्छ ।

नेपालका चार राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गैँडा छन् । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । चितवनमा गैँडा गणना गर्न एक महिना लाग्ने निकुञ्जले जनाएको छ ।

अन्य निकुञ्जमा एक सातादेखि १० दिनसम्म लाग्ने भएको छ । नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो ।