काठमाडौं । देशभर एकै चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार बिहानसम्म चार सय स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार ९१ नगरपालिका र तीन सय ९ गाउँपालिकामा अन्तिम नतिजा आइसकेको छ । सार्वजनिक भएको नतिजा अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेस छ । सो पार्टीले अहिलेसम्म ५१ वटा नगरपालिका र एक सय ३६ वटा गाउँपालिका गरी एक सय ८७ वटा पालिका प्रमुख पद हात पारेको छ ।
कांग्रेसले ४२ वटा नगरपालिकाको उपमेयर, एक सय ३४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ७६ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले एक हजार ८ सय ८८ वटा वडाध्यक्ष पद जितेको आयोगको तथ्यांक छ । एमाले दोस्रो स्थानमा छ । नेकपा एमालेले २६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका गरी ११४ वटा पालिका प्रमुख पद जितेको छ।
एमालेले ३० वटा नगरपालिकाको उपमेयर र ८५ वटा पालिकाको उपाध्यक्ष गरी ११५ वटा पालिकामा उपप्रमुखरउपाध्यक्ष जितेको छ । एमालेले एक हजार ४ सय ७३ वटा वडाध्यक्ष पदमा जित हासिल गरेको छ । पालिका चुनावको अहिलेसम्मको मतपरिणाममा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ६९ वटा गाउँपालिका गरी ७८ वटा पालिकाको प्रमुख पद जितेको छ ।
माओवादीले १४ वटा नगरपालिकाको उपमेयर, ७२ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ८६ ठाउँमा जितेको छ । माओवादीले सात सय ९५ वटा वडाध्यक्ष पदमा जित निकालेको छ। नेकपा एकीकृत समाजवादीले एक नगरपालिका मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
जनता समाजवादी पार्टीले ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । राष्ट्रिय जनमोर्चाले दुई वटा पालिका जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दुई वटा पालिका र अन्य दल तथा स्वतन्त्रले ७ वटा पालिकामा प्रमुखमा जित निकालेका छन् ।