२८ असोज, काठमाडौं । यस्तै, चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । यस अवधिमा चालु खाता रु एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । यस्तै, भदौ मसान्त सम्ममा खुद पुँजीगत ट्रान्सफर रु दुई अर्ब २० करोड रहेको छ भने रु एक अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । त्यस्तै, यो अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ ।
गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा सात दशमलव छ प्रतिशतले बढेर रु २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २५ खर्ब ८२ अर्ब ३८ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब ९८ अर्ब ९७ करोड बराबर रहेको छ । गत भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत रहेको छ । चालु आवको दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ दशमलव सात महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।