चिडियाखाना छिर्न बनाइयो मापदण्ड, जनावरलाई खाना खुवाउन नपाइने

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनमा जाने अवलोकनकर्ताका लागि मापदण्ड बनाइएको छ । सबै अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। राससका अनुसार बढ्दो कोरोना भाइरसको संक्रमणका बीच मापदण्ड बनाइएको हो । चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढ्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको छ ।

अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने छ। स्वास्थ्य मापदण्ड पालना गर्दै यसअघि झैं हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ। हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीव जनावर छन्।

जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) छन्। ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुनलागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ। उक्त स्थानमा अवलोकनका गर्न विदेशीलाई १ हजार रुपैयाँ, सार्क राष्ट्रका पाहुनालाई ५०० रुपैयाँ, नेपालीलाई २०० रुपैयाँ, विद्यार्थीलाई १३५ रुपैयाँ र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।