भरतपुर । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा आगलागी हुँदा ६ वटा घर जलेका छन्् । रातीबाट लागेको आगो बिहीबार बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । बिहान २ बजेदेखि आगो निभाउन सुरु गरिएको थियो । चार वटा दमकलको सहयोगमा बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी गराएका छन् । भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए ।
आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आज बिहान करिब २ बजेतिर आगो लागेको सूचना प्रहरीले पाएको थियो । त्यसलगत्तै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालयको टोली आगो लागेको स्थानमा पुगेको थियो । त्यसपछि भरतपुर महानगरपालिकाको दमकलले आगो निभाउन सुरु गरेको थियो । तर एउटा मात्र दमकलले आगो निभाउन नसकेपछि खैरहनी नगरपालिकाका दुईवटा र नेपाली सेनाको एउटा दमकल बोलाएर आगो निभाउन थालिएको थियो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी पनि खटिएका थिए ।