भरतपुर । भरतपुर महानगरपालिकाले चितवनमा कोरोना भाइरसको सम्भावित उपचारका लागि अत्याधुनिक सेवासहितको अस्पताल बनाउने भएको छ ।
आगामी तीन दिनमा अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने दाबी महानगरपालिकाको रहेको छ ।
भरतपुर महानगरपालिकाको पहलमा भरतपुर–१० मा रहेको प्रदर्शनी केन्द्रमा अत्याधुनिक आईसीयूसहितको अस्पताल सञ्चालनमा ल्याइने भएको हो ।
महानगरपालिका यसको तयारीमा समेत जुटिसकेको छ । प्रदर्शनी केन्द्रमा रहेको भवनलाई तीन दिन भित्र अस्पतालमा परिणत गरिने भएको छ ।
अस्पतालमा अत्याधुनिक उच्च प्रविधिको बेड १०, आईसीयू बेड १० र जनरल वार्ड बेड ५० गरी ७० बेड रहने भएका छन् ।
यस कार्यमा चितवनस्थित विभिन्न अस्पतालबाट प्राविधिक सहयोग लिइने भएको छ ।
आपतकालिन अवस्थामा पूर्वतयारी स्वरुप यो अस्पताल बनाउन लागिएको हो । चितवनका अस्पतालहरुबाटै जनशक्ति ल्याएर आवश्यक पर्दा सेवा सञ्चालन गरिने भएको छ ।
तीन बिघा क्षेत्रफलमा रहेको प्रदर्शनी कक्षमा तीनवटा भवन छन् । कोरोनाको संक्रमणको जोखिम बढेसँगै अहिले देशभर सचेतना बढाइएको छ ।