चितवन राष्ट्रिय निकुन्जमा दुई गैंडा मृत भेटिए, के हो कारण ?

फाइल तस्वीर : रासस

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत भेटिएको निकुन्जले जनाएको छ । बुधबार पदमपुर फाँटास्थित अर्ना इन्क्लोजर क्षेत्रमा एउटा केटो (गैंडाको बच्चा) र बिहीबार बेलशहरघाट क्षेत्रमा भाले गैंडा मृत भेटिएको निकुन्ज प्रशासनले जनाएको छ ।

यससँगै चालु आर्थिक वर्ष भित्र निकुन्जमा २२ वटा गैंडा मृत फेला परिसकेका छन् । त्यसमध्ये ४ वटा भने चोरीशिकोरीका कारण मारिएको हो । अहिले भेटिएका दुई गैंडाको भने खुर र खाग सुरक्षित रहेका कारण मरण प्राकृतिक कारणले भएको अनुमान छ ।

प्रशासनका अनुसार अन्दाजी १८ महिनाको केटो र ३० वर्षको भाले गैंडा मरेको अवस्थामा भेटिएका हुन् । यो वर्ष प्राकृतिक कारणले समेत धेरै गैंडा मर्न थालेसँगै चिन्ता बढेको छ । चितवन राष्ट्रिय निकुन्ज नेपालमा सबैभन्दा बढी गैंडा रहेको निकुन्ज हो ।