चितवन र तनहुँमा पहिरो, कम्तिमा ४ जनाको मृत्यु

चितवन । चितवन र तनहुँमा पहिरोमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ । चितवनमा केही मानिस घाइते छन् । तनहुँमा भने तीन जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुई जनाको मृत्‍यु भएको हो । तीनजना अझै बेपत्ता छन् । मृत्‍यु हुनेमा कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवने जनाएको छ । उता, राप्ती नगरपालिका १२ मा पहिरो जाँदा एकै घरका चारजना बेपत्ता भएकोमा एकजनाको शव भेटिएको छ ।


उता, तनहुँको बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र भिमादमा सात जना घाइते भएका छन् । बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी बन्दीपुर ३ तामुङमा सुभाष थापा, लीलबहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन् । सोही ठाउँका ७० वर्षीया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापाको ज्यान गएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार जारी छ । मनसुनका कारण देशभर वर्षा जारी छ । यसले पहाडी भेगमा पहिरोले मानवीय तथा भौतिक क्षति निम्त्याएको हो ।