काठमाडौं । अनलाइन ठगीमा संलग्न चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको १९ जनामध्ये नौ जना चिनियाँ र १० जना नेपाली हुन् । तीमध्ये चार जना नेपाली युवती रहेको बताइएको छ । उनिहरुलाई ठगीमा प्रयोग भएको उपकरणसहित बूढानीलकण्ठ नगरपालिकाको महादेवखोला र काठमाडौं महानगरको चण्डोलबाट पक्राउ गरेको थियो ।
अभियुक्तहरुको साथबाट १२ थान ल्यापटप, सिमसहित ७७ थान मोबाइल, अन्य सीम कार्ड ७४ थान, छ थान राहदानी, चार लाख एक हजार नेपाली रुपैयाँ, कम्प्युटर दुइ थान र राउटर चार थान पनि प्रहरीले बरामद गरेको छ ।
उनीहरुले अनलाइन व्यवसायमा नाफा हुने प्रलोभनमा धेरै जनालाई ठगेको बताइएको छ । उनीहरुले टेलिग्राममा अपरेसन टिचर नामको च्यानल सञ्चालन गरेका थिए ।