काठमाडौं । नेपाली र चिनियाँ अधिकारीहरूबीच चिनियाँ अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगति समीक्षा भएको छ । चिनियाँ सहयोगमा नेपालमा बनेका पूर्वाधारहरुको बारेमा बेइजिङमा शुक्रबार नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा छलफल भएको हो । यस अवसरमा ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने दुई देशका अधिकारीहरूबीच सहमति भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
संयन्त्रको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसहित दूतावासका अन्य पदाधिकारी नेपालको तर्फबाट सहभागी थिए । चीनको तर्फबाट उपविदेश मन्त्री सुन बिइतोङले टोलीको नेतृत्व गरेका थिए । बैठकमा आर्थिक सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।