चिनियाँ कम्यूनिष्ट पार्टी स्थापनाको १ सय वर्ष पुरा, कसरी मनाईंदै उत्सव ?

Photo : Ng Han Guan/AP\theguardian

बेइजिङ । चीनमा सत्तारुढ कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पुगेको छ । चीनले यो अवसरलाई विशेष उत्सवका रुपमा मनाइरहेको छ। बीबीसीका अनुसार विशेष कार्यक्रमबारे खुलासा भने गरिएको छैन । तर राष्ट्रपति सी जिन्पिङले बिहीवार एक मन्तव्य दिने कार्यक्रम छ । चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रम भइरहेको र संचारमाध्यममा चीनको इतिहासबारे कार्यक्रम प्रसारण गरिएका छन् ।


सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिस्ट पार्टी एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको हो । त्यो समयमा देशमा व्यापक परिवर्तनहरू भएका थिए । बीबीसी लेख्छ, केही त्यस्ता परिवर्तन भने स्पष्ट रूपमा देखिनेगरी हटाइएको छ। सोमवार, बेइजिङस्थित बर्डस् नेस्ट रङ्गशालामा द ग्रेट जर्नी नाम दिइएको कला देखाइएको थियो। प्रदर्शनमा कलाकारले पार्टी र देशको इतिहास झल्काउने खालका पहिरन लगाएका थिए र साजसज्जा प्रदर्शन गरेका थिए ।

चीनले कोभिड१९ को महामारीलाई कसरी पराजित गर्यो भन्ने पनि प्रस्तुति देखाइएको थियो । वार्षिकोत्सव मनाउन वर्षैभरि प्रसारणका लागि १०० टेलिभिजन कार्यक्रमको मिति समेत तय भएको छ । विज्ञहरूका अनुसार पार्टी र देशको इतिहासलाई प्राथमिकता दिएर उत्सवहरू मनाइरहँदा चीनको तीव्र विकासलाई पनि पर्यायका रूपमा देखाउन खोजेको देखिएको छ ।