बेइजिंग । चीनले एक विवादास्पद कानून ल्याउदै जलसेनालाई थप अधिकार सम्पन्न बनाएको छ । चिनियाँ संचारमाध्यमका अनुसार अब आफ्ना तटवर्ती सेना (नौसेना) लाई चीनले विदेशी जहाजमा गोली हान्ने अधिकार दिएको छ । प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेका नौसेनालाई गोली हान्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने भएको हो ।
यसको पुष्टी चीनको न्युज एजेन्सी सिन्ह्वाले गरेको हो । राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र समुद्री अधिकारको रक्षा गर्न ल्याइएको यो कानुन फेब्रुअरी १ बाट लागू हुने भएको छ ।
चिनियाँ तटरक्षकले आफ्नोबारे निर्णय आफै गर्न सक्नेछन् । यसको मतलव परिआएको खण्डमा माथिको आदेश नकुरी सेनाले गोली चलाउन सक्नेछ । दक्षिण चीन सागरसहित समुन्द्री क्षेत्रमा अमेरिकासहितका मुलुकसँग टकराव परिरहेका समयमा चीनले यस्तो कानून ल्याएको हो ।