काठमाडौं । चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि जोडेको छ । कोभिडयता नेपाल प्रतिवन्धमा थियो । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूचीमा राखिएको छ । फागुन १ गतेदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक एकल र समूहगत रूपमा नेपाल घुम्न आउने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार शुक्रबार नेपालका लागि चीनका राजदूत छन सोङसँगको शिष्टाचार भेटमा चीनका विभिन्न सहरबाट सिधा उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा अगाडि सारेकोबारे छलफल भएको छ ।
चीनले कोरोना महामारीको नियन्त्रणको उपाय भन्दै सन् २०२० को जनवरी अन्त्यदेखि लागू हुने गरी आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदै आएको थियो । पर्यटकीय सूची सार्वजनिक गर्नुअघि नै नेपाल र चीनबीचको हवाई सेवा भने आंशिक रूपमा खुला गरिएको छ । हाल नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौँबाट कुनमिङमा हप्तामा दुई र राजधानी बेइजिङमा एक उडान गरिरहेको छ ।
एयर चाइनाले छन्तु–काठमाडौँ रुटमा हप्तामा दुई उडान गरिरहेको छ । त्यसैगरी चाइन साउदर्न एयरले हप्तामा एक पटक काठमाडौँ–ग्वान्झाउमा उडान गरिरहेको छ ।