काठमाडौं । करीव साढे दुई दशकपछि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालले भब्य आतिथ्यता प्रदान गरेको छ ।
राष्ट्रपतिलाई लिन विमानस्थलमै पुगेकी राष्ट्रपति विद्यादेवि भण्डारी उनको बिदाईमा समेत विमानस्थलसम्मै पुगेकी थिइन् ।
यसबाहेक सबै सम्माननीय पदधारी व्यक्तित्व विमानस्थलसम्मै पुगेर चिनियाँ राष्ट्रपतिको स्वागत तथा बिदाईमा खटिए ।
यस दौरान राष्ट्रपतिलाई सर्वसाधारण, कर्मचारीले समेत सडकमा उत्रिएर भब्य स्वागत गरेका थिए । उनको स्वागतमा सरकारले काठमाडौंलाई सफा र चिरिच्याट्ट पारेको थियो ।
बेहुलीझै सिँगारिएको काठमाडौंलाई आम सर्वसाधारणले पनि बिना कुनै विरोध सरकारको साथ दिँदै भ्रमण सफल बनाउन सहयोग गरेका छन् ।
दुई दिने नेपाल भ्रमणमा शनिबार आएका राष्ट्रपति आइतबार स्वदेश फर्किएका हुन् ।
त्यसअघि राट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच २० वटा सहमति तथा सम्झौतामा हस्ताक्षर भएको छ ।
दुई मुलुकबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ । सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र जन गणतन्त्र चीनका सरकारहरुबीच समेत सम्झौता भएको छ ।
शासन क्षमता अभिवृद्धिमा समन्वय तथा आदानप्रदान सम्बन्धी नेपाल र जनगणतन्त्र चीनका सरकारहरु बीच एमओयू भएको छ ।
आपराधिक विषयहरुमा पारस्परिक कानूनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीच सन्धि गर्ने सहमति भएको छ ।
नेपाल र चीनबीच सगरमाथा संरक्षणमा समन्वय गर्ने सम्बन्धमा समेत सहमति भएको छ ।
नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगबीच लगानी एवं उत्पादनशील क्षमताका प्रमुख आयोजनाहरु प्रबर्द्धन गर्ने सम्बन्धीमा समेत एमओयू भएको छ ।
छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नका लागि एक्सचेन्ज अफ नोट भएको छ ।
चीन नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयू भएको छ ।
काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगीनी-शहरको सम्वन्ध स्थापना गर्ने सम्वन्धी समझदारी भएको छ ।
नेपालको बुटबल उपमाहनगरपालिका शहर र चीनको सियन शहरबीच भगीनी(शहरको सम्वन्ध स्थापना गर्ने सम्बन्धी समझदारी समेत भएको छ ।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्प्रागत चिनीया ओखतिको राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिको समन्वय सम्वन्धी एमओयू समेत दुई मुलुकबीच भएको छ ।
नेपालको गृह मन्त्रालय र चीनको आपतकालीन व्यवस्था मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आपतकालिन प्रतिक्रिया सम्वन्धमा एमओयू भएको छ ।
नेपालको महान्यायधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्यूरेटरबीच साझेदारीका विषयमा एमओयू भएको छ ।
नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यूसियस इन्स्टिच्यूटबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्यूसियस इन्स्टिच्युट स्थापना गर्ने सम्वन्धमा सम्झौता भएको छ ।
नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच नेपालबाट चीनमा अमिला फलको निर्यातका लागि वनश्पती स्वास्थ्यका मापदण्डहरुको प्रोटोकल कायम गर्ने सम्बन्धमा सहमति भएको छ ।
व्यापारमा संयुक्त कार्य समुहको स्थापनाका विषयमा नेपालको उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय तथा चीनको वाणिज्य मन्त्रालयबीच एमओयू भएको छ ।
नेपालमा चीनको सहयोगमा निर्मित भूकम्प मापन संयन्त्रसम्वन्धी परियोजनाको हस्तान्तरण प्रमाणपत्र आदान प्रदान भएको छ ।
नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी समन्वय कार्य समुहको स्थापना सम्वन्धी एमओयू दुई मुलुकबीच भएको छ ।
नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास समन्वय एजेन्सीबीच सुरुङ निर्माणमा सहकार्य सम्वन्धमा एमओयू भएको छ ।
सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणका लागि एक्सचेन्ज अफ लेटर भएको छ भने नेपालको काठमाडौं उपत्यकामा चिनीया सहयोगमा महानगर खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि माइन्यूट अफ मिटिङमा समझदारी भएको छ ।
नेपाल भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किनासाथ दुई मुलुकबीच संयुक्त वक्तव्य समेत जारी भएको थियो ।