काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागत गर्ने भएकी छिन् ।
दशैं लगत्तै नेपाल आउन लागेका चिनियाँ राष्ट्रपतिको स्वागतमा अहिले देश तदारुकताका साथ खटिएको छ ।
दक्षिण भारतको तमिलनाडु राज्यस्थित ममल्लिपुरममा आयोजित एक कार्यक्रममा सहभागि भई चिनियाँ राष्ट्रपति नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी २५ असोजमा नेपाल आउने कार्यक्रम बनिरहेको छ ।
२४ असोजमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा उनको स्वागत गर्दैछन् । चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमा नेपालकी राष्ट्रपतिसहित प्रधानमन्त्रीले समेत स्वागत गर्नेछन् ।
यसबाट पनि यस भ्रमणलाई नेपालले दिएको महत्वका रुपमा चित्रण गर्न सकिन्छ । नेपालमा दुई दशकपछि औपचारिक रुपमा चिनियाँ राष्ट्रपतिका भ्रमण हुँदैछ ।
भ्रमणका बेला रणनीतिक समझदारी र सम्झौता हुने तयारी रहेको छ । राष्ट्रपति सी पहिलो पटक नेपाल आउन लागेका हुन् ।
यसअघि सी नेपालमा ८ घण्टा मात्र बस्ने बताइएको थियो । तर, पछिल्लो समय भने उनी दुई दिन नेपालमा बिताउने गरी आउने पक्का भएको हो ।
भारत र चीनको बीचमा अवस्थित नेपाल यी दुबै मुलुकको उच्च प्राथमिकतामा पर्न थालेको आभास पनि यस भ्रमणले दिने छ ।
यता, नेपाल सरकारले संघीय सरकारका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी तथा अन्य निकायको दशैं बिदा कटौती गरिदिएको छ । राष्ट्रपतिको भ्रमणको तयारीका लागि भन्दै बिदा कटौती भएको हो ।