काठमाडौं । चिलीमा अत्यधिक गर्मीका कारण कम्तिमा १३ जनाको ज्यान गएको छ । मौसम विभागले आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । गर्मीको लहरका कारण चिलीका करिब १४ हजार हेक्टर (३५ हजार एकड) क्षेत्रफलमामा आगो फैलिएको छ । आगलागीमा हालसम्म १३ जनाको मृत्यु भएको हो । राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर टाढा रहेको सान्ता जुआना शहरमा अग्नि नियन्त्रकसहित ११ जनाको मृत्यु भएको छ ।
चिलीको कृषि मन्त्रालयका अनुसार आपतकालीन सहयोगका लागि आएको हेलिकप्टर पनि ला अराउकानियामा दुर्घटनाग्रस्त हुँदा एक पाइलट र एक मेकानिकको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । आगो निभाउन थप सेना परिचालन गरिएको छ । देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिएकी छन् ।
बढ्दो आगलागी नियन्त्रण गर्न अर्जेन्टिना र ब्राजिलका ६३ वटा विमान आगो निभाउने प्रयासमा छन् । राष्ट्रपति गाब्रिएल बोरिकले शुक्रबार आफ्नो बिदा घटाएर न्युबल र बायोबायो भ्रमण गरेका छन्। यी दुई क्षेत्रको कुल जनसङ्ख्या करिब २० लाख छ ।